महुवापोखरी नाइट्स

>> Tuesday, May 26, 2015

अजय प्रधान | June 12, 2011

- पहिलो अध्याय -

मेरो मन बिचलित थियो। मन मस्तिस्क लाई अनेकानेक बिचार ले बिथोलिरहेको थियो। म प्लेन को बिजिनेस क्लास मा थिएँ। रातको निस्पट्ट अँध्यारोलाई छिचोल्दै प्लेन एकोहोरो उडिरहेको थियो, वेन्कुभरबाट वाशिङ्टन, डी.सी. तिर । दिउँसो अफिस मा बार्बरा ले न्यु योर्क बाट फोन गरेकी थीइ, "भरत,” उस्को आवाज गम्भीर थियो, स्वर मा कम्पन, “लक्ष्मण इज इन जर्जटाउन यूनिवर्सिटी हस्पिटल। क्यान यू गो बी विथ हीम? ही नीड्स यू। लिसा नीड्स यू।” मैले अङ्रेजी मा सोधेँ, किन? के भो? इज ही ओके?" उस्ले सिर्फ एत्ती मात्र भनी, “ही इज सिक, टाइम इज अफ एस्सेन्स।" मन चसक्क भो। घाँटी सुक्यो। पानी पिएँ। एक् छिन् टोलाएर बसेँ। अनी घर मा फोन गरेँ, "कान्ता, म वाशिङ्टन जाँदै छु आज राति को फ्लाइट् बाट। बार्बराको फोन आएको थियो भर्खरै। लक्ष्मण हस्पिटल मा छ। क्यान् यु पाय्क माइ सुट्केस?" मेरो हरेक शब्दलाई गम्भीरताको वजनले छोपेको थियो। राति एअरपोर्टमा कान्ताले ड्रप गर्दा अङ्गालोमा मा कस्दै भनेकी थीइ, "प्लीज बी स्ट्रङ्ग फोर मी। सबै ठीक हुन्छ।" रोक्न खोजे पनि मेरो आँखा रसायो, हीउँद्को मौशममा बिहान पातमाथि पर्ने शीत जस्तै।

एयर होस्टेसले पातलो तर न्यानो ओढ्ने ल्याइ दिएकी थीइ। आफुलाई ओढ्नेले ढाकेर चिसो मन लाई न्यानो बनाउन खोजेँ। एअर होस्टेस ले ड्रिन्क्स अफर गरेकी थीइ। मन थिएन केही पिउने। मैले भने, "नो थ्यान्क्स।" तर एक छिन पछी मन फेरेँ, "वन स्कच प्लीज्।" बिज्नेस क्लासको बत्ती मधुरो भयो। मैले आँखा चिम्लेँ । मेरा बिचार श्रिन्खलाले मलाई मेरो अतीतमा डोर्यायो।

साँझको समय थियो। बयरको रुखको हाङामा चढेर लक्ष्मण र म बयर टिप्दै, कट्टुको खल्तिमा कोच्दै थियौँ। बिच बिचमा कुरुम् कुरुम् खाँदै पनि। मिठो मिठो, टर्रो टर्रो। बिहानै लक्ष्मण ले भनेको थियो, "ए भरते, आज बेर टिपेर खान पर्छ, बुझिस?" लक्ष्मण र मेरो उमेर दुई बर्षको फरक। उ १४ बर्ष, म १२। लक्ष्मण हाम्रो गाउंको घर संगैको डिट्ठाबाजेको नाति। डिट्ठाबाजे हाम्रो मौजाको हिसाब किताब राख्न लाइ मेरो हजुरबुवा ले बर्षौं देखि राखिबक्सेको नोकर। नोकर र मालिक को नातिहरु भए पनि लक्ष्मण र म सानै देखि अति मिल्थ्यौं।

बयरको रुख अङेनाको पछाडि पट्टीको बगैचामा उभ्भेको थियो। एक्कासी अङेनाबाट हजुरआमाको आवाज आयो, "ए छौँडा हरु, साँझ बयरको रुखमा भुत लाग्छ भन्ने था छैन?" झसक्क अली डर लाग्यो। म फुत्त हाङाबाट तल हाम्फालेँ। झन्डै खुट्टा मर्केको। लक्ष्मण भने हाङामै थियो निर्धक्क सँग, जिउले हाङालाई मन्द मन्द तल माथि मच्चाउँदै, मानौ हातिको काँधमाथि चढेको रिझन माउते जस्तो।

हाङाबाट लक्ष्मण खिस्स हाँस्दै करायो, "हजुरमा, अँध्यारो भा छैन, भुत आउने बेला अल्ली भा छैन।" अनी म तिर हेर्दै गिज्याउने पारामा भन्यो, "एई, तँ तेस्तरी किन तर्स्या? हजुरामा सँग कि भुत सँग?"

आफुलाई भने अलि अलि डर लागेपनि, डर लागेको स्विकार्नु त भएन, आफ्नो अभिमानलाई धरौटी राखेर कुन्ठिनु त भएन। भन्दिएँ मैले पनि, "काँको तर्सनु? जम्प गर्‍या नि, कस्तो मज्जा आउँछ। म काठमाडौं मा जहिलेनि एस्तरिनै जम्प गर्छु हाम्रो घरको पर्खाल बाट। " आवाजलाई हाङ्गातिर उचाल्न खोजे पनि नजर भने मेरो धर्ती तिर गाडीएको थियो। भुतको नामैले पनि कट्टु भिज्ने बेला थिए ति दिन हरु। मुटु अली अली ढुक ढुक भैरहेको थियो। धन्य, कट्टु भने अझ सङ्लै थियो।

उस्ले मलाई नचिनेको कहाँ हो र। भनी हाल्यो, "बुझिस, मर्दको छोराले डराउनु हुन्न। जे पर्छ पर्छ, डट्नु पर्छ। सुन्या हो कि हैन? हजुर मुमा होस् वा भुत, तर्सनु पर्ने किन? बरु सुन, भोली राती महुवापोखरी जानु पर्छ। नाटक लाग्छ रे। रामे र शत्रुलाई पनि भनौला।"

एक छिनमा झमक्क अँध्यारो हुन थाल्यो । साँझको हावा लाई हल्का चिसोपनाले आफ्नो अङालोमा बाँध्न थाल्यो। हामी भित्र कोठामा छिर्यौ अनि डस्नामा ओढ्नेले आफुलाई ढाकेर भोलिको नाटकको सपना देख्न थाल्यौँ। उस्ले म तिर एउटा आँखा झिम्काउँदै सुटुक्क काने खुशी गर्‍यो, "अनी सुन, झुमा लाई पनि लाने भोली। कसैलाई नभन।" झुमा रिझन माउतेकी १३ बर्षकी छोरी झुमरी। लक्ष्मणले उस्को नाम लाई छोट्याइ दिएको थियो - झुमा।

म भने बोल्दिन थेँ झुमा सँग धेरै। पोहोर साल उस्ले मेरो चुक्ली लाइदेकी थिइन् घर मा, "भरत बबुवा बाल्टी के पानी मे डम्बी डाल देल्कै।" मैले आफ्नै बिचार ले गड्यौँला बाल्टिनको पानी मा राख्दिया हो र? लक्ष्मणले उकासेर न हो। झुमाले गरेर बेत्था मा मैले मुवाँको चट्कन खानु परेको थियो। त्यस बेला देखी झुमा सँग मलाई रिस उठ्थ्यो। पख, झुम्री, म तँलाई पनि चट्कन नखुवाइ कहाँ छोड्छु र। गड्यौला को कुरा सम्झ्यो कि झुमा लाई गाली गरुम्ला केही कुरा मा भनेर सोच्दै बस्थेँ। तर झुमा अगाडि पर्‍यो कि खै किन हो बोल्ती बन्द हुन्थ्यो मेरो, घाँटी सुक्थ्यो।

म त्यस बखत काठमाडौं को सेन्ट जेवियर्स स्कुलमा ६ क्लास मा पढ्थें। लक्ष्मण भने गाउँकै बर्हथवा माइ माद्यामिक विद्यालयमा ८ क्लासमा पढ्थ्यो। म काठमाडौंबाट मिनपचास को दुई महिने बिदामा जाडो छल्न बुवामुवां सँग चन्द्रनगर पुग्या थिएँ। चन्द्रनगर, मेरो गाउँ। उस्बेला काठमाडौं बाट चन्द्रनगर पुग्न अहिले जस्तो महेन्द्र राजमार्ग बाट पथलैया हुँदै दक्षिण झर्ने बाटो थिएन। बिरगंज बाट ईन्डिया छिरेर रक्सौलमा ट्रेन समातेर सितामढी सम्म पुग्नु पर्थ्यो, अनी त्यहाँबाट नेपाल-भारत सिमा नजिक को सोनबर्षा हुँदै मलंगवा पुग्नु पर्थ्यो। मलंगवा, सर्लाही जिल्लाको सदरमुकाम। अनी त्यहाँ बाट दुई कोस उत्तर-पुर्ब हुँदैँ बयलगाडा बाट तीन घण्टा लगाइ मेरो गाउँ पुगिन्थ्यो। घरको विल्लिस जीप एउटा थिन त थियो, तर त्यो गूड्ने भन्दा बढी थन्कने नै हुन्थियो। कहिले के बिग्रने कहिले के। गाउँको बाटो कच्ची न हो। खाल्टा खुल्टी परेको। गाडीको पाङ्ग्रा के बच्थ्यो र। धन्य अहिले जाडोको मौषम थियो। बर्षा हुँदो हो त बाटो पुरै हिलै हिलो हुन्थ्यो।

. . . (to be continued)



0 comments:

About This Blog

Humanature Journal blog is maintained by A.S. Pradhan.

Disclaimer

Opinions expressed on this blog are personal opinions of the writers, not of the organizations they are associated with.

  © Blogger templates Shiny by Ourblogtemplates.com 2008

Back to TOP