मनको दैलो (कथा)

>> Saturday, September 19, 2009

भाग १ - स्टारबक्समा घटस्थापना
अजय प्रधान | सेप्टेम्बर १९, २००९

"तिम्रो मनको दैलो खोली राख है, म आउन लागेँ, म आउन लागेँ..." भुन्टे आफ्नो मन पर्ने नेपाली पप् गाना गुनगुनाउँदै भेन्कुभरको रब्सन स्ट्रीटमा हिँड्दै थियो। एक्कासी जमुना सँग जम्का भेट भो।

"ए भुन्टे, कस्को मन्को दैलो खोलिराख है भन्दै गुनगुनाउँदै हिँडिराको? आफुलाई सुगम पोखरेल नै ठान्या हो कि कसो?"

"ओहो, जमुना दिज्जु, नमस्ते। सञ्चै हजुरलाई?"

"मोरा, तँलाई मैले मलाई जमुना नभन भनेर भन्या होइन? मलाई जेनी भन्नु भनेर कत्ती भन्नु, अनी एस्तो बाटो साटो मा अरुले सुन्ने गरी दिज्जु सिज्जु पनि भन्नु पर्दैन। जेनी जमर्कट्टेल भने पुग्छ।"

"सरी दिज्जु, माफ पाउँ। अनी साँच्चि, आज त घटस्थापना। हजुरलाई दसैंको शुभकामना छ है।"

"हो त साँच्चि। ल भुन्टे तलाई पनि दसैं को शुभकामना। अनी साँच्चि तँ कहाँ जान लाको अहिले? हिँड् जाम एकेक कप तात्तातो कफि खाम स्टारबक्समा। मरिलानु के छ र? कि कसो? भन्।"

एकछिन पछी स्टारबक्समा कफीको घुट्को लाउँदै दुई जना गफ मा मस्त भए।

"साँच्ची आरएनएसीबिसीको दसैं पार्टी छ रे नि अक्टोबर ३ मा, तँ जान्छस कि जान्नस?"

"हजुरले एनसिएसबीसी भन्नु भा होला। अब जानै पर्ला नि हैन र? नेपालमा भए घरमा खसी बोका काटिन्थ्यो। टिका टालो गरिन्थ्यो। शीर मा पहेँलो जमरा लगाइन्थ्यो। अब यो बिदेशमा तेइ पार्टी सार्टी त हो। अरु के नै गरिन्छ र? बरु तपाईं हरुको अरु के छ प्रोग्राम? घरमा खसिको मासु खाने, तास सास खेल्ने कार्यक्रम छैन दसैंको?" भुन्टेले जमुनाको दिमागमा पम्पु दिन भ्याइ हालेछ।

गुणराज बस्ताकोटी लाई सबैले सानै देखिन् किन हो कुन्नी भुन्टे भनेर चिन्थे। भुन्टे र जमुना को चिन्जान धादिङ देखिकै हो। साइनोमा भुन्टे जमुनाको फुपुबजैको नाती हो। पोखरामा हुर्किएर काठमाडौंमा पढेर क्यानाडामा युनिभर्सिटीमा पढ्न भनेर आइपुगेको। हाल युबिसी मा एन्थ्रोपोलोजीमा बिए गर्दै थिए, अनी रब्सन मा एउटा जापानिज सुशी रेस्टुराँ मा पार्ट टाईम काम पनि गर्थे। जापानी भाषा को नाम मा फुटी कौडी केइ बोल्न आउँदैनथ्यो। तैपनी अनुहार हेर्दा जापानी र नेपाली मा तेत्ती सार्है भिन्नता नदेख्या हुनाले रेस्टुराँ मालिकले धन्य काम दि हालेछ।

"खै के भनुम, भुन्टे। तेरो भिना लाई एक छीन फुर्सद भ पो। तैपनी तँ आईज न नवमीको दिनमा। सँगै बसी रमाइलो गरुम्ला। अब नेपालमा जस्तो घरमा खसी काट्ने त तेस्तै हो, गार्चा ब्रदर्स बाट खसिको मासु ल्याम्ला। खुब झोल हालेर खसिको मासु र च्युरा अनी काँक्राको अचार खाउँला, हुन्न?" जमुना पनि के कम थिई र, तुरुन्तै प्रोग्राम बनाइ हाली। मन मनै हिन्दी सिनेमाको डायलग दिँदै थिईन्, "तु भी क्या याद रखेगा किस सेठानीसे पाला पडा था।" धादिङ्को हुनेखानेकी छोरी न ठहरी।

तेत्तिकै मा रिचमोन्ड बस्ने दीर्घ कटुवाल स्टारबक्स भित्र छिरे। आँखा जुध्न पा छैन, भुन्टेले दुबै हात जोड्दै भने, "अहो जर्साप, नमस्कार।" मानौ रुक्माङ्गद कटुवाल नै नेपाल बाट क्यानाडाको पहिलो राजदूत भएर आँखा सामु प्रकट भा जस्तो।

"ह्या तँ पनि, काँ को जर्साप सर्साप नि अब? न उडा न धेरै," दीर्घले भने। "अनी भन् के छ, सबै ठीकठाक? नमस्कार है जमर्कट्टेल भाउजु। धेरै भो हजुरको दर्शन नपाको।"

"ल भैगो जर्साप न सहि, तर नेपालको साँचिको जर्साप चाँहीँ कुन्नी कताको राजदूत हुने रे,तपाइँ क्यानाडाको महामहिम राजदूत हुन परेन?" भुन्टेले भने। खाँटी नेपालीको छोरो न ठहर्यो, अर्कालाई उडाउन पायो भने किन बाँकी राख्थे र?

"के दशैँ को शुरु मै एस्तो नचाहिँदो गफ दिया भुन्टे? क्यानाडाको राजदूतमा त कुन्नी को भोजराज हो कि मोजराज लाई मनोनयन गरी सकेछन माकुनेको सरकार ले," जमुनाले भनिन् । "नमस्ते है दीर्घ बाबु। तेइ त धेरै भो तपाईंलाई नदेख्या। अनी जहान परिवारलाई आरामै?"

"चाइन्जोसो, त्यो के अरे, ज्वाँईँ खोज्ने कहिले कहिले, दाईजो थुपार्न नि हतार भन्या जस्तो, क्यानाडामा राजदूताबास खोल्ने कहिले कहिले, राजदूत नियुक्त गर्न नि हतार। तेस्मा नि क्यानाडाको सर्खार ले मान्नु नि पर्‍यो नि।" प्वाक्क पछाडि बाट एकजना विद्वानले बोले।

तिनै जना छक्क परि एकै पल्ट पछाडि फर्केर हेरे।

पाल्पाली टोपी लगाएका करीब ६५ बर्ष उमेरको एकजना नेपाली बन्धु ङिच्छ हाँस्दै अघी बढ्छ। "नमस्कार है, यहाँ हरुले मलाई चिन्नु हुन्न, म छबिलाल रुपाखेति, भर्खरै एक महिना भो नेपाल बाट ल्यान्ड गरेको क्यानाडा मा। म प्रकाश रुपाखेतिको बुवा।"

"ए बुवा, नमस्कार। हजुरनै हो प्रकाशजीको बुवा? वहाँ को बुवा नेपाल बाट आई पुग्नु भा छ भनेर सुन्या त थिएँ," भुन्टेले दुबै हात जोडी नमस्कार गरे।

जमर्कट्टेल भाउजु कसैले नसुन्ने गरी बर्बराउन थालिन्, "के खान यो उमेरमा क्यानाडा आको होला। के के नै पाईन्छ भनेर आको होला। यहाँ ६ महिना बसे पछी गोराहरुको दलाइमा परेपछी चेत पाउँछ बुढाले।"

बुढाले सुनिहाले, अनी भने, "अब के गर्नु त नानी, नेपाल को ताल माल तेइ हो। सप्पैले थाहा पाकै कुरो हो। बस्न नसक्किने भइगो। दिनको १० घण्टा बत्ती आउँदैन, धारा बाट पानी आउँदैन। स्टोभ बाल्न मट्टितेल पाउदैन। सवारीको लागि पेट्रोल पाउँदैन। जता गयो उतै फोहोरै फोहोर छ। ईमर्जेन्सी जान पर्‍यो भने बाटो बन्द गर्छन् राजनीति गर्ने भनाउँदा हरुले। कसैलाई हाछ्युँ मात्र आउनु पर्छ टायर् बल्न सुरु हुन्छ, मानौ सप्पैको नाखाँ स्पार्क प्लगै जोड्या जस्तो। दिउँसै लुट्छन, पिट्छन, ज्यानको ठेगान छैन। अराजकताले पराकास्ठ नाघेकोछ। माओवादीले घर जग्गा लुटेर लिन्छु भन्छन। कांग्रेस भित्र नाताबाद गोताबाद छ। सप्पै राजनीति गर्ने हरु लाई नयाँ नेपाल न पुरनो नेपाल, सप्पै कुराले फापेको छ। हामी जस्ता निर्धा जनतालाई लाई कसैको वास्ता छैन। त्यसै भएर बरु यहीँ ठीक भनेर छोरा बुहारी ले बोलाए, अनी आको नि। अब तपाईं नै भन्नुस्, मैले चाइन्जोसो के अरे ठीक गरेकी बेठिक।"

बुढा बाले अमिताभ बच्चनले बोल्ने डायलग भन्दा नि लामो भाषण देको सुनेर जमुनाले रातो मुख पार्दै बेक्कार बर्बराएछु भनेर सोची। "हजुरले एकदम ठीक गर्नु भो। बस्नुस् न बुवा। ए दीर्घ बाबु, तपाईं नि बस्नुस् न। चिया कफि खाने होइन? अनी बुवा, म चैँ जेनी जमर्कट्टेल। उ भाई चैँ गुणराज बस्ताकोटी। अनी वाहाँ चैँ दीर्घ कटुवाल।"

"अनी म चैँ प्रडीप महर्जन।" बुढा बा को पछाडि बाट एकजना अग्लो युवक अघी सर्दै भन्छ। "सबैलाई महापर्व बरा डशै को सुभकामना छ है।"

"ओहो प्रदीपजी, नेपाल बाट कहिले फर्किनु भो? कोसेली के ल्याउनु भो हाम्लाई?" जमुनाले भनिन्।

"लौ जमर्कतेल भाउजु, नेपाल बात फर्केको डुई मेना भेसक्यो। ल्याको कोसेली सप्पै सकी सक्यो।"

तेत्तिकैमा भुन्टेको सेलफोन को घन्टी बज्छ। खल्ती बाट फोन झिकेर भुन्टे लामो राग तान्दै बोल्छ, "हेल्ल्ल्लो"।

"ए भुन्टे, माधव बोल्या म। खुब छोइला, ऐला र म:म: खान मन लाइरछ यार। जुम हिँड काठमाडौं क्याफे। मलाई बाटो मा पिकअप गर त। जर्साप र कार्कीलाई नि भनुम्ला आइजो भनेर," उता बाट आवाज आउँछ। माधव थापा भुन्टेको नेपाल देखी को साथी। धेरै बर्ष पछी फेरी दुइजनाको भेट भेन्कूवरमा पोहोर साल भएको हो।

"के हो चिट्ठै पर्या जस्तो छ नि, मार्साप। म त टाट छु, भन्देको छु अहिलेइ। तेरो मेज्मानी हो भने आउँला। जर्साप नि यही छ स्टार्बक्स्मा म सँगै। यहाँ पुरै नेपाल नै उर्लेको छ। भोजै ख्वाउने बिचार छ भने ल्याउँला जन्ती नै।" माधवले कहिले कहीँ ट्युशन पढाउने हुनाले भुन्टे उस्लाई मार्साप भन्थे।

"तेरो जिम्मा मेरो भो। अरुको त तेस्तै हो। आफ्नो मेज्मानी आँफै गर्ने भए ल्याए हुन्छ जन्ती नै। को को छन्?" माधवले उताबाट फोनमा सोधे।

"जमुना दिज्जु, आइ मीन, जेनी दिज्जु, प्रदीप महर्जनजी, अनी प्रकाशजीको बुवा पनि हुनुहुन्छ। अनी जर्साप त भनी हालेँ।" भुन्टेले स्टेटिस्टिक्स क्यानाडाको इम्मिग्रेन्ट पपुलेशन सर्भेको रिपोर्ट नै बुझाई दिए।

"प्रकाशेको बुवा रे? तँ दाँत फुक्ल्या बुढाहरु सँग कैले देखी हेङ्ग आउट गर्न थालिस ए?" अली उदेक मान्दै माधवले भने। मन साफ भए पनि बोली भने अली छुद्र थियो माधवको।

"काँ को हेङ्ग आउट, यहीँ भर्खर भेट भाको। कफि खाँदै स्टार्बक्समा घटस्थापना मनाइरको।"

"बाहुन बुढो छोइला ऐला खाने भाट्टिमा के छिर्ला र, जातै जाला बुढाको, म:म: ले जिब्रो छुने त परै जाओस, हात मात्र छुँदा पनि काशी गएर स्नान् गर्नु पर्ला बुढालाई।" माधवको छुद्रपन अझै सक्या थिएन। "अनी तेरी दिज्जु पनि के आइस्सेला र। बरु महर्जने लाई डोर्याएर ल्याए हुन्छ। नेवारको छोरो हो। छोइला ऐला खान जातैले दिएको।"

"सुन, म एक छिन्मा हिँडुम्ला। अहिले फोन राखेँ," भन्दै भुन्टेले फोन बन्द गरे। अनी सबैतिर हेरी को को जान इछुक छन् भनेर बुझे। प्रदीप महर्जन र दीर्घ कटुवाल भुन्टे सँगै काठमाडौं क्याफे जाने मा परे। रुपाखेति बाजे र जमर्कट्टेल भाउजु चैँ क्याफे नजाने तर भुन्टेको थोत्रो कारमा घर सम्म राइड लिनेमा परे।

तेस्पछी हाम्रो नेपाली को जत्था स्टार्बक्सबाट पलायन भए।

क्रमश:


नोट्: यो कथा र यस्का पात्रहरु सबै काल्पनिक हुन्। यो व्यङात्मक कथा हो, त्यसैले कृपया कथाको बिषयवस्तुबाट कुनै अन्यथा नलिनु होला। यो कथा मेरो नेपाली भाषा मा लेख्ने पहिलो प्रयास हो। कृपया र्‍हश्व दीर्घ मिलाई पढ्नु होला। बडा दसैंको उपलक्छ्यमा पाठकलाई हार्दिक शुभकामना।

1 comments:

Basanta September 30, 2009 at 6:58 PM  

विदेशको एउटा 'मिनि-नेपाल'को चित्रलाई साह्रै राम्रोसंग उतार्नुभएको रहेछ! विदेश बस्ने नेपालीको भित्री पिडालाई उजागर गरेको छ र प्रस्तुति पनि एकदमै रमाईलो छ।

About This Blog

Humanature Journal blog is maintained by A.S. Pradhan.

Disclaimer

Opinions expressed on this blog are personal opinions of the writers, not of the organizations they are associated with.

  © Blogger templates Shiny by Ourblogtemplates.com 2008

Back to TOP